समुदायकाे उत्कृष्ट वितीय सहकारी संस्था
“ खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं ”
संस्थाको परिचय

“खर्च घटाऔं, बचत गरौं, उद्यमशील बनौं” भन्ने आह्वानका साथ तत्कालीन गैंडाकोट युवा क्लब हालको सामाजिक विकास तथा अनुसन्धान केन्द्रको सक्रियतामा मिति २०५१/०२/०८ मा डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता गरिएको गैंडाकोट यूवा बचत तथा ऋण सहकारी संस्था लि. (पछि नाम परिवर्तन भई कायम भएको गैंडाकोट बचत तथा ऋण सहकारी संस्था लि.) र स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि., आमा बचत तथा ऋण सहकारी संस्था लि, नवल कृषि सहकारी संस्था लि, संगम अविरत बचत तथा ऋण सहकारी संस्था लि. बीच समय समयमा एकीकरण भई कायम भएको यस गण्डकी बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोट नगरपालिकालाई आफ्नो कार्यक्षेत्र वनाई सदस्यहरूलाई आर्थिक र सामाजिक रूपमा सबल र स्वाभिमानी नागरिकका रूपमा स्थापित गराउन क्रियाशील रहेको प्रारम्भिक सहकारी संस्था हो । यो संस्था सहकारीका सर्वमान्य सिद्घान्तहरू तथा मूल्य र मान्यताहरूलाई अङ्गीकार गरी सदस्यहरूको हितका लागि संस्थालाई पारदर्शी, जवाफदेही र कुशल ढङ्गबाट व्यवस्थापन र विभिन्न सामाजिक एवं आर्थिक क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ । तत्कालीन गैंडाकोट गा.वि.स. लाई कार्यक्षेत्र मानी मासिक रु. ५० बचत गरेर प्रारम्भ गरिएको यस संस्थाले हाल १६००० भन्दा बढी सदस्यहरूलाई प्रत्यक्ष लाभान्वित गराउँदै आइरहेको छ । गैंडाकोटको प्रमुख व्यापारिक स्थल तथा पूर्वपश्चिम राजमार्गसँग जोडिएको आफ्नै आकर्षक र सुविधासम्पन्न मुख्य कार्यालय, स्वाभिमान, संगम, अविरत सेवाकेन्द्रमा आफ्नै स्वामित्वमा रहेको सेवा केन्द्र कार्यालय र अमरापुरी, आमा र नवल सेवा केन्द्र कार्यालयबाट समेत सदस्यहरूलाई सरल र सुविधाजनक तवरबाट बचत सङ्कलन, ऋण लगानी, रेमिट्यान्स तथा अन्य वित्तीय तथा गैरवित्तीय सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ । संस्थामा उपलब्ध विभिन्न आर्थिक तथा सामाजिक गतिविधिहरूका माध्यमबाट संस्थाले आफ्नो छवि एवं प्रभावकारितालाई जनसमुदायमा राम्रोसँग स्थापित गराउन सफल भएको छ । संस्थागत सुदृढीकरण र सहकारी अभियानमा समेत टेवा पुर्याउनका लागि यस संस्थाले सहकारी विभाग, राष्ट्रिय सहकारी संघ, डिभिजन सहकारी कार्यालय, नेफ्स्कुन लगायतका निकायहरूसँग निरन्तर सहकार्य र समन्वय गर्दै आइरहेको छ । आधुनिक वित्तीय परिवेशमा संस्थालाई सक्षम र सबल बनाई सदस्यहरूको सर्वोत्तम छनौटका रूपमा यसै संस्थालाई रोज्ने गरी विकास गर्न ब्ऋऋग् द्वारा प्रतिपादित र नेफ्स्कुन मार्फत सञ्चालित एक्सेस ब्रान्डिङ कार्यक्रममा सहभागी भई सदस्यहरूलाई सर्वोत्कृष्ट सेवा तथा सन्तुष्टि प्रदान गर्न क्रियाशील रहेको छ । यसका लागि संस्थामा हाल कुशल र अनुभवी १७ जनाको सञ्चालक समिति, ३ जनाको लेखा तथा सुपरिवेक्षण समिति र ३६ जना दक्ष कर्मचारीहरूबाट कार्यालयको नीतिगत व्यवस्थापन, कार्य सञ्चालन र त्यसको सुपरिवेक्षणको काम भइरहेको छ । अत्याधुनिक सेवासुविधा सहितका बैंक तथा वित्तिय संस्थाहरुसँगको प्रतिस्पर्धामा आफूलाई स्थापित गराउनु पर्ने चुनौति लाई सामना गर्दै आफ्ना सदस्यहरु माझ गुणस्तरिय र सुबिधाजनक सेवा प्रदान गर्दै सदस्यहरुलाई आकर्षित गरि दिगो बिकासको लागि यस संस्था अग्रसर भईरहेको छ । कार्यक्षेत्र भित्रका नागरिकहरुबाट थोरै थोरै (मासिक २०० रुपैयाँ) रकम संकलन गरेर जम्मा भएको रकम उत्पादन मुलक व्यवशायीक क्षेत्रमा लगानी गरी शेयर सदस्यको आर्थिक, सामाजिक उन्नतीमा टेवा पु¥याउनु संस्थाका लागि अवसर हो । संस्थाको कुल बचत, कुल ऋण लगानी तथा शेयर पुँजीलाई हेर्दा संस्थाले यो अवधिसम्म गरेको प्रगति सर्वउत्तम छ । वित्तीय बजारमा भएको प्रतिस्पर्धा र माग अनुसारको सेवा प्रवाहका लागि सयमसापेक्ष नीति नियम, दक्ष व्यवस्थापन तथा सञ्चालक समितिको अथक प्रयासले मात्र संस्थाले सफलता पाएको छ ।

एकिकरण भएका संस्थाका परिचय

स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.

नेपालमा पनि परापूर्व कालदेखि मानिसहरूले आफ्ना आवश्यकता पूरा गर्न विभिन्न रूपबाट सहकारी सञ्चालन गरेका प्रमाणहरू भेटिन्छन् धर्म भकारी, गुठी पर्म ढिकुटी आदि सहकारीका प्रमाणहरू हुन् प्राचीन सहकारी पूर्वीय दर्शनलाई हेर्ने हो भने पनि आधुनिक सहकारी आन्दोलनको ख्यात बेलायतबाट सन् १८४४ मा सुरु भएका प्रमाणहरू भेटिन्छन् । नेपालमा सहकारीको विकासक्रमलाई हेर्दा सहकार्य गर्ने प्रचलनबाट अगाडि बढेको देखिन्छ २०४६ भन्दा अगाडि सहकारीका सदस्य प्रत्यक्ष रूपमा नागरिक समाजका प्रतिनिधि बन्न सकेका थिएनन् । सरकारले विभिन्न रूपबाट नियन्त्रण गरी राखेको हुनाले सफल हुन सकेका थिएनन् २०१३ सालमा चितवनको शारदानगरमा बखान सिं गुरुङको अगुवाइमा बखान बचत तथा ऋण सहकारी संस्था को स्थापना भएको थियो, जसलाई नेपालकै पहिलो सहकारी संस्था भनिन्छ । त्यसै गरी २०१६ सालमा सहकारी ऐन जारी भएको थियो, पञ्चायतको स्थापनासँगै सहकारी राज्यका अगका रूपमा रहेको नागरिक समाजका प्रतिनिधि बन्न सकेनन् त्यसरी किनारा लागेको सहकारी समूहका रूपमा काम गरेका थिए । जब २०४६ को जनआन्दोलनबाट प्राप्त बहुदलीय प्रजातन्त्रका आधारमा ऐनहरू बनाउने क्रममा सहकारी ऐन २०४८ बन्यो र जारी भयो । सहकारी संस्थाहरु खुल्न थाले । यसै क्रममा गैडाकोट गाविस वडा नं. १ र २ नजिक बसोबास गर्ने केही व्यक्तिहरूले यस क्षेत्रमा छरिएर रहेको स–सानो रकमलाई सङ्कलन गरी यसै क्षेत्रका निम्न वर्गका व्यक्तिहरू जो बैंकको पहुँच भन्दा टाढा रहेका थिए, सानो सानो खर्च टार्ने काम गर्न पनि नसक्ने समूहलाई लक्षित गरी उनीहरूलाई सदस्यका रूपमा सहभागी गराई मासिक केही रूपैया बचत गर्ने बानी बसाइयो । सङ्कलित रकम उनीहरूलाई नै आय आर्जनका काममा लगानी गरी उनीहरूको आर्थिक र सामाजिक अवस्थामा सुधार गर्ने उद्देश्यले बचत तथा ऋण सहकारी संस्था स्थापना गर्ने निर्णय भएको थियो ।
संस्था स्थापना गर्ने कुरा अन्य साथीहरूसँग राख्दा सकारात्मक सुझाव आएपछि एउटा अनौपचारिक समिति बनाई नामका बारेमा छलफल गर्दा स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि। राख्ने सहमति भयो ५ सदस्यीय अनौपचारिक समितिले नाम अनुसारको सेवा दिई अगाडि बढ्ने प्रण गर्यो । यस संस्थालाई कानुनी रूपमा सञ्चालन गर्न विधान बनाई दर्ता गर्नपर्ने भएको हुनाले सहकारी ऐन २०४८ मा व्यवस्था भए बमोजिमको परिधिभित्र रही संस्था दर्ता गर्नु पर्ने हुनाले २५ जना सदस्य पुयाई विधानमा सबैको (२५ जनाको सल्लाह सुझाव अनुसार तयार गरी नीति नियम बनाई मासिक रु.१००/–( बचत गर्नुपर्ने व्यवस्था गरी जिल्ला सहकारी रजिष्ट्रारको कार्यालय नवलपरासीमा पेश गरी स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि. को नामबाट मिति २०५३/११/१६ गते दर्ता नं. ५२/०५३/०५४ प्रमाण पत्र लिई त्यस अनौपचारिक समितिलाई औपचारिक रूप समेत दिइएको थियो ।
स्वाभिमान बचत तथा ऋण सहकारी संस्थालाई चुस्त(दुरुस्त राख्न हामीले ११ सदस्यीय सञ्चालक समिति बनाएका थियौं, त्यसै गरी लेखा समिति, ऋण अनुगमन उप(समिति, शिक्षा उप समिति, महिला सशक्तीकरण उपसमिति, सल्लाहकार समिति विभिन्न समिति उप समितिहरू गठन गरी कार्य प्रकृयालाई अगाडि बढाएका थियौं । हरेकको कार्यक्षेत्र र अधिकार तोकी प्रत्यायोजन गरिएको थियो ।
एकिकरणको अभियानलाई अग्रता दिन र सदस्यहरुको सेवा सुविधा वृद्धि गर्नेको लागि एकिकरणको पहलमा गैंडाकोट साकोस र स्वाभिमान साकोसको एकिकरण गरि २०७३ मंसिर ५ गते विधिवत रुपमा एकिकृत कारोवार सुरु गरिएको र गैंडाकोट स्वाभिमान साकोस नमाकरण गरिएको थियो । एकिकरण सम्मको अवस्थामा स्वाभिमान साकोसको शेयर पुँजी रु. १ करोड १७ लाख गरि कुल पुँजी रु. ८ करोड ५६ लाख र सेयर सदस्य संख्या ११०० भएकोमा कर्मचारी संख्या ४ जना रहेका थियो ।

आमा बचत तथा ऋण सहकारी संस्था लि.

गैंडाकोट गा.वि.स तिव्र सहरीकरण हुँदै गइरहेको पृष्ठभूमिमा समयको मागलाई परिपूर्ति गरी देशका युवा उद्यमी व्यवसायीहरूमा देशभक्तिको भावना जागरुक गर्नका लागि सहकारी संस्थाको स्थापना र विकास पनि अत्यन्त सकारात्मक हिसाबले अगाडि बढिरहेको छ । यसै क्षेत्रमा बसोबास गर्ने बैंक वित्तीय संस्था एवं सहकारीहरूसँग सहकार्य नभएका र पछिल्लो समयमा बसाई सराई गरी आएका व्यक्ति, व्यक्तित्व र समुदायका मानिसहरूलाई समेटी तिनीहरूको आय आर्जनका निमित्त छरिएर रहेको पुँजीलाई एकीकरण गरी उक्त पुँजीलाई कृषि लगायत स्वदेशी उत्पादनशील क्षेत्रहरूसँग जोड्दै पुँजीको परिचालन र पुँजी निर्माण गरी आफ्ना शेयर सदस्यहरूका बिच सहकारी सिद्धान्तका आधारमा उचित बाँडफाँड, संरक्षण र संबर्द्धन र विकास यस संस्था स्थापनाको मूल लक्ष्य रहेको, पुँजीवादी प्रतिस्पर्धात्मक वर्तमान बदलिँदो देशकाल परिस्थिति अनुसार संस्थालाई अगाडि बढाउनु सबै शेयर सदस्य महानुभावहरूको दायित्व एवं कर्तव्य हो ।
२०६९ साल माघ महिनामा ६० जना शेयर सदस्यहरूको सहभागिताबाट जिल्ला सहकारी डिभिजन कार्यालय नवलपरासीमा दर्ता नं. ५२७/२०६९/०७० मा यस संस्थाको विधिवत् दर्ता प्रक्रिया पूरा भएको थियो । सुरुमा ३ लाख ९२ हजार शेयर पुँजीबाट सुरु गरिएको यस संस्था यसै गा.वि.स. अन्तर्गत वडा नं २ कालीगण्डकी चोकमा कार्यालय स्थापना गरी सोही मार्फत आफ्ना शेयर सदस्यहरूलाई सेवा प्रदान गरिरहेको थियो ।
सहकारी एकिकरण अभियानको थालनी पछि २०७४ आश्विन २७ गते वाट आमा साकोस र गैंडाकोट स्वाभिमान साकोसको एकिकृत कारोवार सुरु गरिएको अवस्था सम्म आमा बचत तथा ऋण सहकारी संस्थामा शेयर पुँजी रु. ३७ लाख गरि कुल पुँजी रु. २ करोड ५६ लाख र सेयर सदस्य संख्या १०१ भएकोमा कर्मचारी संख्या २ जना रहेका थियो ।

नवल कृर्षि सहकारी संस्था लि.

डिभिजन सहकारी कार्यालयमा दर्ता भई श्री नवल महिला कृषि सहकारी संस्था लि गैडाकोट–११ नवलपरासीमा मिति २०७३।०६।०६ गतेवाट संचालनमा रहेको संस्था समय अनुरुप मिति २०७६।०२।०५ मा गैंडाकोट नगरपालिकावाट स्वीकृत भई श्री नवल कृर्षि सहकारी संस्था लि. भई वुढो तथा छोडुवा गाईको लागि गोठ व्यवस्थापन गर्ने, कृर्षि उपजको कारोवार गर्ने हेतुले सञ्चालनमा रहेको संस्था समय र सदस्यको माग अनुरुप मिति २०७७।०४।१२ गते गैडाकोट नगरपालिकावाट साविक को श्री नवल कृर्षि सहकारी संस्था र श्री गैंडाकोट स्वाभिमान साकोस विच एकिकरणको स्वीकृत प्राप्त भएपछि एकिकृत कारोवार संचालन भई गैंडाकोट न.पा. वडा नंं ११ भेडावारी चोकमा नवल सेवा केन्द्र नामाकरण गरी बचत तथा ऋणको वित्तीय कारोवार सुरु गरिएको थियो । एकिकरण अधि संस्थामा शेयर पुँजी रु २ लाख र कुल पुँजी रु २० लाख रहेको थियो भने सदस्य संख्या १७८ जनाको र कर्मचारी संख्या १ जना थियो ।

संगम बचत तथा ऋण सहकारी संस्था लि.

संगम बचत तथा ऋण सहकारी संस्था लि. गैंडाकोट नगरपालिकाको वार्ड नं १ को पूर्वी भागमा मिति २०५० पौषमा २५ जनाबाट मासिक रु. ५०/– का दरले जम्मा गर्ने गरी सञ्चालित संस्था २०५१ जेष्ठ १६ मा डिभिजन सकारीमा दर्ता भई नियमित रूपमा बचत गर्ने र त्यसलाई ऋणको रूपमा लगानी गरी सेवा दिनुका साथै सामाजिक कार्य समेत गर्ने उद्देश्यले सञ्चालित भएको संस्था थियो । त्यसैगरी यस संस्थाको कार्यक्षेत्र गैडाकोट नगरपालिकको वार्ड न १ देखि ९ सम्म रहेको थियो । यस संस्थाको सेयर सदस्यहरू विभिन्न जातजाति, भाषा, धर्मका व्यक्तिहरूको सहभागितामा सञ्चालित संस्था थियो । त्यसैगरी बजार क्षेत्रको नजिकमा भएकोले केहि सदस्यहरू उद्योगी, व्यापारी रहेका थिए ।
संस्था स्थापना हुँदा नै समान व्यक्ति समान सेयर को अवधारणामा खोलिएको हुँदा सुरुका वर्षहरूमा सबै सेयर सदस्यको सेयर रकम बराबर अर्थात न्यून नै रहेको थियो ताकि कुनैपनि सदस्यलाई मेरो सेयर कम छ भन्ने हिनताबोध नहोस् । त्यसै कारण संस्थामा निरन्तरता र स्थायित्वको हिसाबले सबैको उतिकै दायित्व रहेको महसुस गरीएको थियो भने हाल आफै जग्गा खरीद गरी भवन बनाई आफनै भवनमा कार्यालय सञ्चालित थियो ।
संगम साकोस र अविरत साकोस मिति २०७६ पुस ५ गते एकिकरण भएर संगम अविरत बचत तथा ऋण सहकारी संस्था लि. नामाकरण गरिएको थियो । एकिकृत कारोवार अधि सम्ममा संस्थामा शेयर पुँजी रु. १ करोड ६५ लाख र कुल पुँजी रु. १३ करोड ६८ लाख रहेको थियो भने सदस्य संख्या २१८५ जनाको र कर्मचारी संख्या ४ जना थियो ।

अविरत बचत तथा ऋण सहकारी संस्था लि.

नेपालको मध्य भाग नवलपरासी जिल्लाको पूर्वी सिमाना उत्तरमा प्रसिद्ध मौलाकाली मन्दिर र हिमालय श्रृंखला पूर्वमा देवघाटको पुण्य भूमि र नारायणी नदीको सामिप्यमा रहेको यस गैडाकोट नगरपालिका जहाँ अनेकौ सहकारी संघ संस्थाहरूले महत्वपूर्ण भूमिका खेल्दै हाल आएर सहकारी ग्रामको रूपमा स्थापित भइसकेको अवस्था थियो । तथापी तत्कालीन समयमा गैडाकोट गा.वि.स. वडा नं. ६, ७ तथा ५ का केही क्षेत्रलाई कुनै पनि सहकारी एवम् सामाजिक संस्थाले समेटन नसकेको अवस्थालाई मध्यनजर गर्दै यहाँका विपन्न गरीब आदिवासी जनजाति तथा निम्न वर्गीय समुदायको बाहुल्यता रहेको यस क्षेत्रका केही बौद्धिक युवाहरू र सामाजिक व्यक्तित्वको सक्रियतामा यस क्षेत्रको परिवर्तनको सोचबाट स्थापित भएका नारायणी समाज विकास केन्द्र र प्राप्त–प्रज्ञा बचत तथा ऋण सहकारी संस्था लि. लाई सहकार्य र एकताका माध्यमबाट सहकारी ऐन २०४८ अनुसार डिभिजन सहकारी कार्यालय चितवनबाट एकीकरण गरी २०५८ श्रावण १२ गतेदेखि अविरत बचत तथा ऋण सहकारी संस्था लि. को नामाकरण गरीयो । अधिकांश व्यक्तिहरू आफ्ना आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न नसकी आफ्नो घर छोडी अन्य देशमा न्यून स्तरको काम गर्ने वाध्य भएका थिए । गाउँको दक्ष, क्षमतावान जनशक्ति नजिक अवस्थित यस गैडाकोट गा.वि.स.मा धेरै गैरसरकारी संस्थाहरूले आफ्नो कार्यक्रम अवधिमा गठन गरीएका समूहभित्र रहेको लाखौं रूपैयाँ अस्तव्यस्त रूपमा रहेको थिए । ठूलो रकम हुँदा हुँदै पनि समूहमा आवद्ध व्यक्तिहरूले आफ्नो जीवनस्तरमा सुधार ल्याउन सकिरहेका थिएनन् । यो यावत समस्याहरुलाई मध्यनजर गर्दै यस गैंडाकोट गा.वि.स. शिक्षक, वुद्धिजिवी तथा युवाहरुको वृहत छलफलबाट यसै गा.वि.स.का प्रत्येक व्यक्तिहरुको आर्थिक समृद्धिका लागि संस्थाको स्थापना भएको थियो ।
सहकारी एकिकरण अभिएको अग्रज संस्थाको रुपमा नेपालकै पहिलो एकिकरण भएको साकोस अविरत साकोस र संगम साकोस मिति २०७६ पुस ५ गते एकिकरण भएर संगम अविरत बचत तथा ऋण सहकारी संस्था लि. नामाकरण गरि कारोवार थियो । एकिकृत कारोवार अधि सम्ममा संस्थामा शेयर पुँजी रु. ८५ लाख ३८ हजार र कुल पुँजी रु. ८ करोड ५३ लाख रहेको थियो भने सदस्य संख्या २३८६ जना र कर्मचारी संख्या ४ जना थियो ।

संगम अविरत बचत तथा ऋण सहकारी संस्था लि .

सहकारी एकिकरण अभियानको थालनी पछि २०७६ पौस ०५ गते संगम साकोस र अविरत साकोस एकिकरण भई संगम अविरत बचत तथा ऋण सहकारी संस्था लि. नामाकरण गरि कारोवार गरिएको थियो जुन २०७८ माघ १९ गते गैंडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था संग एकिकरण भई गण्डकी बचत तथा ऋण सहकारी संस्था वनेको थियो ।
एकीकरणको वेला संगम अविरतको शेयर पुँजी ३ करोड ८३ लाख सहित कुल पुँजी ३५ करोड ६८ लाख थियो भने सदस्य संख्या ५१८९ जना थिए । एकिकरण भएको वेला सम्म संस्थामा ८ जना कर्मचारी रहेका थिए । संस्थाले मृतक राहतकोष, जेष्ठ नागरिकलाई सम्मान, बालवालिकालाई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेका थियो । समुदाय शेयर सदस्यको आर्थिक तथा समाजिक हितकालाई विभिन्न क्रियाकलापहरु सञ्चालन गरी पारस्परीक सहयोग एवम् मितव्ययीताको अभिवृद्धि गरिरहेको थियो ।

कलश बचत तथा ऋण सहकारी संस्था लि .

सहकारी एकिकरण अभियानको थालनी पछि २०८० असोज २० गते गण्डकी सकोस र कलश साकोस एकिकरण घोषणा गरी २०८० कार्तिक १ गतेवाट कारोवार सुरु गरिएको थियो । एकीकरणको वेला कलश को शेयर पुँजी ४६ लाख सहित कुल पुँजी १ करोड ४८ लाख थियो भने सदस्य संख्या ६३९ जना थिए । एकिकरण भएको वेला सम्म संस्थामा २ जना कर्मचारी रहेका थिए ।