
मिति : २०८० माघ २९ गते
गण्डकी वचत तथा ऋण सहकारी संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यस संस्थाका सदस्यहरुलाई आ.व. २०७९/०८० को संरक्षित पूँजि फिर्ता कोष बाट संरक्षित पूँजि विवरण कार्यक्रम संस्थाका अध्यक्ष श्री पोषण राज सुवेदी ज्यूको अध्यक्षता तथा गैडाकोट नगरपालिका, सहकारी शाखाका अधिकृत श्री देवेन्द्र गौतमको प्रमुख आतिथ्यतामा संस्थाको सभाहलमा सम्पन्न गरियो ।
संस्थाले आ.व. २०७९।०८० को नाफावाट संरक्षित पूँजि फिर्ता कोषमा विभाजन भएको रकम संरक्षित पूँजि फिर्ता कोष वाट लाभ लिने सदस्यहरु मध्ये १०८ जनालाई संस्थाको भुक्तानी पूर्जा (चेक) प्रदान गरिएको हो भने संरक्षित पूँजि फिर्ता पाउन योग्यता पुगेका सबै सदस्यहरुलाई सदस्यको बचत खातामा जम्मा हुने व्यवस्था मिलाईएको छ । गत आ.ब.मा सदस्यहरुले बचत मा प्राप्त गरेको ब्याज र ऋणमा भुक्तान गरेको ब्याजको आधारमा नियमित सदस्यहरुलाई मात्र प्रदान गरिन्छ । गण्डकी साकोसका सदस्यहरुलाई सेयर लाभांस बापत १३ प्रतिशतका दरले यस अगाडी नै प्रदान गरिसकिएको छ भने बचत गर्ने बचत कर्ता हरुलाई र ऋण लिएर नियमित किस्ता भुक्तान गरेका सदस्यहरुलाई सदस्यहरुको कारोबारको सम्मान स्वरुप सहकारी ऐन २०७४ को दफा ६९ मा व्यवस्था भए अनुसारको संरक्षित पूजि फिर्ता गरिएको हो ।


हामिले जम्मा गरेको बचतमा ब्याज पनि पायौ, सेयरको बोनस पनि पायौ आज यसै संस्थामा कारोबार गरे बापत पुरस्कारको रुपमा संरक्षित पूजि फिर्ता कोषबाट थप रकम पनि पाए । यस्तो पुरस्कार त मैले कतैबाट पनि पाएको थिइन । आफ्नो अनुभव सुनाउदै सदस्य भागिरथी सुबेदी ले भन्नु भयो ।
संरक्षित पूजि फिर्ताकोष सहकारी संस्थाको सुन्दर पक्ष हो । यसको सहि सदुपयोगले सदस्य र सहकारी संस्थाको सम्बन्धलाई बलियो बनाउँछ । हामीले बिगत वर्षहरु देखि नै संरक्षित पूजि फिर्ता कोषबाट सदस्यहरुलाई बचत तथा ऋणको कारोबारको आधारमा अतिरिक्त प्रोत्साहन उपलब्ध गराउदै आएको र अघिल्लो आ.ब.मा संस्थाको जगेडा कोषलाई बलियो बनाउन जगेडा कोषमा रकमान्तर गरिएको थियो भने अहिले सदस्यहरुलाई नै बितरण गरेका जानकारी प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सुबेदी ले गराउनु भयो । रु २० भन्दा माथि रकम प्राप्त गर्ने सदस्यहरुको खातामा उक्त प्रोत्साहन रकम जम्मा गरिने छ भने सदस्यले अधिकतम रु ४८४८१ सम्म उक्त प्रोत्साहन रकम प्राप्त गर्नु भएको छ ।
संस्थाका सचिव श्री कुल प्रसाद पाण्डे ज्यूले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष श्री केदार नाथ न्यौपाने स्वागत मन्तव्य सहित कार्यक्रमको वारेमा जानकारी दिनुभएका. थियो । साथै संस्थाको बिद्यमान अवस्था, सहकारीको बारेमा बुझ्नै पर्ने कुरा एवं संरक्षित पूजि फिर्ता कोषको बारेमा प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुबेदीले प्रस्तुतिकरण गर्नुभएको थियो । संस्थाका पूर्व अध्यक्ष श्री वेद प्रसाद गौडेलले यस्ता कार्यक्रमहरुले सदस्यहरुको हित हुनुका साथै संस्थाको गुणस्तरीय मापनमा अव्वल रहेको जानकारी सदस्यहरु माझ जाने कुरा व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहुनु भएका गैडाकोट नगरपालिका, सहकारी शाखा अधिकृत श्री देवेन्द्र गौतमले गण्डकी साकोस कार्य क्षेत्र भित्रको उत्कृष्ट सहकारीको रुपमा रहेको, सदस्यहरुलाई कारोबारको आधारमा प्रोत्साहन तथा पुरस्कृत गर्न व्यवस्था गरिएको संरक्षित पूजि फिर्ता कोषको सदुपयोग गरेर सदस्यहरु संगको सम्बन्ध मजबुद बनाएको मा गण्डकी साकोल लाई हार्दिक धन्यबाद ज्ञापन गर्दै संस्थाको उत्तरोत्तर प्रगतीको कामना गर्नु भएको थियो ।



कार्यक्रमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष श्री पोषणराज सुबेदीले गण्डकी साकोस सदस्यहरुको अधिकतम हित र सुबिधाको लागि सदैव अग्रस्थानमा रहेको र भविष्यमा पनि सदस्यको हित र सन्तुष्टिलाई केन्द्रमा राख्ने गरि यस सहकारीको सेवा र कार्यक्रमहरुलाई निरन्तरता दिन प्रतिबद्ध रहेको कुरा व्यक्त गर्दै उपस्थित सम्पुर्णमा धन्यबाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।