
गण्डकी बचत तथा ऋण सहकारी संस्था (गण्डकी साकाेस)को आयोजनामा “सहकारी सचेतना तथा जोखिमपूर्ण अवस्थामा जीवन रक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम” गैडाकोट–१४ स्थित राधा कृष्ण मन्दिर, सभाहलमा सम्पन्न भएको छ। १४० जना सदस्यहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न कार्यक्रमले सदस्यहरूमा सहकारी ज्ञानसँगै आपतकालीन जीवन रक्षा सम्बन्धी व्यवहारिक चेतना अभिवृद्धि गरेको छ। कार्यक्रमको मूल सन्देश “सचेतना नै सुरक्षाको आधार हो” भन्ने रहेको थियो ।
कार्यक्रमको अध्यक्षता अमरापुरी सेवा केन्द्र व्यवस्थापन संयोजक श्री मेघनाथ पाैडेलले गर्नुभएको थियो । स्वागत मन्तव्य अमरापुरी सेवा केन्द्र व्यवस्थापन सदस्य जमुना काफ्ले राख्नुभएको थियो। संस्थाका अध्यक्ष श्री गोविन्द सुबेदीले शुभकामना मन्तव्य दिँदै सहकारीका सदस्यहरू आर्थिक रूपमा मात्र नभई सामाजिक र व्यवहारिक रूपमा पनि सक्षम हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री रामचन्द्र सुबेदीले सहकारीको उद्देश्य, सेवा, सदस्यको दायित्व तथा संस्थागत सुदृढीकरणका विषयमा सहजीकरण गर्नुभएको थियो। त्यसैगरी, श्री पर्शुराम आचार्यले जोखिमपूर्ण अवस्थामा अपनाउनुपर्ने सावधानी, दुर्घटना तथा विपद्का बेला गरिने प्राथमिक उपचार, आत्मरक्षा र जीवन रक्षा उपायबारे व्यावहारिक जानकारी दिनुभयो। सहभागी सदस्यहरूले जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए ।
कार्यक्रमको सञ्चालन श्री अन्जनराज पन्तले गर्नुभएको थियो। सहभागी सदस्यहरूलाई प्रोत्साहनस्वरूप तरकारीका बिउ बिजन वितरण गरिएको थियो, जसले आत्मनिर्भरता र उत्पादनमुखी सोचलाई प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।
यस कार्यक्रमले सहकारी सदस्यहरूलाई सुरक्षित, सजग र सक्षम नागरिकका रूपमा अघि बढ्न प्रेरित गरेको विश्वास गरिएको छ ।