
मिति २०८३ वैशाख २४ गते बिहीबार, गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गैंडाकोट नगरपालिकाका १० वटा सामुदायिक विद्यालयका आर्थिक रूपमा कमजोर र जेहेन्दार १० जना विद्यार्थीलाई छात्रवृत्ति बितरण कार्यक्रम संस्थाका अध्यक्ष श्री गोबिन्द सुबेदीको अध्यक्षतामा तथा गैंडाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख श्री खेमप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
संस्थाका सचिव श्री केशवराज शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष श्री केदार नाथ न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यालयका प्रतिनिधिको तर्फवाट श्री लक्ष्मीदत्त आचार्यले गण्डकी बचत तथा ऋण सहकारीले यस प्रकारको छात्र बृत्ति प्रदान गर्न सामुदायिक बिद्यालय मध्येका यि बिपन्न बिद्यार्थि हरु अध्ययन गर्ने बिद्यालय का बिद्यार्थिहरु छनौट गरेर समुदायमा उदाहरणीय कार्य गरेकोमा संस्थालाई धन्यबाद ज्ञापन गर्दै प्रशन्नता व्यक्त गर्नु भयो । त्यसै गरि संस्थाका सल्लाहकार श्री पोषणराज सुवेदीले संस्थाले विगतमा पनि सामाजिक कार्यक्रम गर्दै आएको र भविश्यमा यस्ता कार्यक्रम निरन्तर रहने अपेक्षा गर्दै संस्थाको छवि समाजमा उच्च रहेको कुरा व्यत्तः गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि आचार्यले शिक्षा क्षेत्रको सुधारका लागि सहकारी संस्थाको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको भविष्य उज्यालो बनाउन ठूलो भूमिका खेल्ने र शिक्षा क्षेत्रमा सहकारीहरूको सहभागिताले गुणस्तरीय शिक्षाको पहुँच बिस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने स्पष्ट पार्नुभयो । कार्यक्रममा संस्थाका संचालक समिति लेखा तथा सुपरिवेक्षण समितिका सदस्य, सहकारीका सल्लाहकारहरू, विभिन्न उपसमितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
छात्रवृत्ति विद्यार्थीहरूलाई नगद, बिद्यालय पोशाक तथा शैक्षिक सामग्री प्रदान गरिएको छ। कार्यक्रममा अध्यक्ष श्री गोबिन्द सुबेदीले शिक्षा नै दिगो विकासको आधार भएकाले सहकारी संस्था आगामी दिनमा पनि यस्ता छात्रवृत्ति तथा शैक्षिक सहयोग कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, छात्रवृत्तिबाट विद्यार्थीहरूलाई पढाइमा थप प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भयो ।